Thursday, September 12, 2024

सुन्दरीजलमा छांगारोहण

काठमाडौं नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेश टिकट लिएर सुन्दरीजलमा उक्लियौं। सुन्दरीजलको रमणीय वातावरणको दृश्यावलोकन गर्न हामी बिहानै यात्रा सुरु भयो। हामीले स्यालमती खोलाको बारेमा सुनेको थियौं र सोही अनुसार स्यालमती खोला खोज्दै जंगलको बाटो समायौं। जंगलको बाटो उकालो लाग्यो। साथीहरूको समूह रमाइलो गर्दै अघि बढिरहेको थियो, तर मेरो मनमा एउटा रहस्यपूर्ण आकर्षण थियो – स्यालमती खोलाबाट निस्किएको झरना।

त्यो झरना जंगलको बीचमा एकान्तमा शान्त बहिरहेको जस्तो लाग्थ्यो। हामी संग साथै हिंडेका साथीहरू फोटो खिच्दै रमाउंदै अगाडि बढ्दै थियो। हामीलाई भने त्यो झरनाको नजिकै पुग्दा, त्यसको सफा पानीको आवाजले एक किसिमको अद्भुत संगीत दिए जस्तै आभास भयो। म निकै उत्साहित थिएँ, त्यहाँको झरनामा छांगारोहण गर्न सकिने कुरा सुनेको थिएं। साथीहरूले मलाई चेतावनी दिए, “छांगा र ढुंगा चिप्लो छ, खतरनाक छ,” तर म त्यो रोमाञ्चक चुनौतीलाई टार्न सक्दिनथेँ।

म झरनाको छेउ पुगें। मलाई साथीले सहयोग गरेर छांगारोहणको लागि चाहिने डोरी, हेल्मेट, कम्मरमा लगाउने जुमर र अरु आवश्यक सामानहरु सहित पानीमा लगाउने ड्रेस लगाएर रेडि भयौं। साथीले छांगारोहणमा हुन सक्ने खतरा बारे जानकारी गराइदियो। 

हामीलाई ब्रीफिङ गरिसके पछि हामी झरनामा खेल्न गयौं। पानीका छिटाहरू अनुहारमा परिरह्यो, अनि म पहिलो ढुंगामा पाइला राखेँ। सुरुवाती केही पाइला सजिलो थियो, तर झरनामा ओर्लंदै जाँदा ढुंगाहरू चिप्लो हुँदै गएका थिए। पानीको बहावले गर्दा म एकपल्ट चिप्लिएँ, तर मेरो हातले बलियो गरी समातेको डोरीले मलाई तल झर्न दिएन।

पानी बाक्लिंदै जाँदा पानीले जोडदार मेरो अनुहारमा हिर्काउंदै थियो। निरंतरता पानीले हिर्काउंदा म निकै थाकिसकेको थिएँ, तर झरनाको भित्र भित्र पुग्दाको क्षणले सबै थकान बिर्साई दियो। 

माथिबाट तल हेर्दा, झरनाले स्यालमती खोलासम्मको यात्रा गरिरहेको देख्न सकिन्थ्यो। त्यो दृश्य स्वप्निल र रोमान्चित लाग्यो। शीतल पानीको ठण्डा स्पर्शले मलाई झन् ताजगी प्रदान गर्यो।
साथीहरू तलबाट हेरिरहेका थिए, ताली बजाउँदै उत्साहित गरिरहेका थिए। त्यो क्षण, स्यालमती झरनाको टुप्पाबाट ओर्लिएर, पोखरीसम्म आईपुग्दा मैले प्रकृतिको शक्तिलाई महसुस गरेँ र त्यही रोमाञ्चक क्षणले मेरो साहसिक यात्रा सफल बनायो। अस्तु।

Friday, April 7, 2023

हामी जस्तै भयौ नि ब्रो!

आज बिहानै पशुपति घुम्न जांदा एक जना बांदर दौडेर आएर भन्यो, के छ ब्रो! आजकाल यतातिर आंउदैनौ कि क्या हो? देख्दिन त! 

मान्छेले भन्यो: के गर्ने ब्रो! आजकाल मन्दी चलेको छ, दिमाग खराब भै रहन्छ, बिहान, बेलुकी, सांझ पैसा छिट्टै फर्काउ, ब्याज ले र आ भनेर फोन आ को आई हुन्छ। अनि कतै जान पनि मन लाग्दैन, फोन उठाउन पनि मन लाग्दैन। पसलमा बस्यो, ग्राहक आउंदैन, महिना कट्यो, घरबेटी बा आउनु हुन्छ। सुक्को आम्दानी छैन, पसलको भाडा तिर्न सकेको छैन। अनि क्यार्नु र ब्रो!
बांदर: हुन त हो ब्रो! आजकाल यतातिर आउने मान्छेहरु पनि तिमी जस्तै मन्दी ले मन मरेकाहरुको संख्या बढ्दै गएको देख्छु। अनि हाम्लाई देख्ने बित्तिकै आँखा तरेर हिंद्छन। पहिले पहिले त खानेकुरा ल्याइ दिन्थ्यो, आजकाल आफै खाएर बांकी रहेको बोक्राहरु मात्रै फ्यांकेर दिन्छ्न। त्यै पनि हाम्ले लुछाचुंडी गरेर पेट भर्छम।

बांदर: खैर! त्यस्ता कुरा छाडम, मैले देखेको तिम्रो देश अब हाम्ले चलाउन पर्ला जस्तो भै सक्यो ब्रो! हाम्रो बानी र नीति, तिम्रो सर्खारले लिएको जस्तो देख्छु। 

मान्छे: त्यस्तो कुरा नगर न ब्रो! के बोलेको? हं?

बांदर: हेर ब्रो! तिम्रो सर्खार र हाम्रो बानी एउटै छ। हाम्ले न आफ्नो घर बनाम्छ्म, न आर्काको घर बनाम्न दिन्छ्म। त्यस्तै त छ, तिम्रो सर्खार! होइन र ब्रो? न आफ्नो पार्टी बनाम्छ, न आर्काको पार्टी, न देश, न राष्ट्र बनाम्छ। यस्ता निकम्मा र हामीमा के नै फरक छ र? हामी जस्तै त भो नि ब्रो! हाम्लाई तलब भत्ता पनि चाहिन्न, पेन्सन पनि चाहिन्न। तिम्रो देशको आर्थिक बिकासमा हाम्ले सहयोग पुर्‍याउन सक्छ्म ब्रो।

(झल्यांस्स बिउँझेको त खाटमा नै रहेछु। मेरा भगवान! ) अस्तु।